काठमाडौँ, २४ जेठ । ‘ओलीको सर्त स्वीकार गरेर एकता हुन नसक्ने नेकपा एमालेको नेपाल–खनाल पक्षको ठहर रहेको छ ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली पार्टी एकतामा इमान्दार नदेखिएको निष्कर्ष निकाल्दै सो कुरा बताएको हो ।
ओलीले पार्टी एकताका लागि भन्दै शनिवार मात्रै ६ बुँदे प्रस्ताव प्रस्तुत गरेको थिए । सोही प्रस्ताव उपर आज आफू पक्षीय स्थायी समितिको बैठक डाकेर नेपाल–खनाल पक्षले अध्यक्ष पार्टी एकताको निम्ति इमान्दार नभएकाले ती प्रस्तावलाई स्वीकार गर्न नसकिने ठहर गर्दै एकता चाहेकै हो भने पहिला आफूहरूले राखेका बुँदाअनुसारका प्रस्ताव आउनु पर्ने सर्त अघि सारेको छ ।
नेपाल खनाल पक्षीय स्थायी कमिटी सदस्य बेदुराम भुसालले भने ‘अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि भनेर ६ बुँदे प्रस्ताव चालबाजी मात्रै हो भन्ने साझा निष्कर्षमा हामी पुगेका छौँ ।’
उनले अध्यक्षका सर्त मानेर एकता सम्भव नभएको बताउँदै लोकतान्त्रिक प्रणाली–व्यवस्था, संविधान जोगाउन गरिएको हस्ताक्षर फिर्ता नहुने बताए ।