पोखरा, २२ जेठ । जेठ २७ मा विश्वासको मत लिने मुख्यमन्त्री गुरुङको प्रस्तावमा विपक्षी असहमत भएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत लिने प्रस्ताव गरे पनि त्यो ढिला हुँने भन्दै विपक्षी गठवब्धनले असहमति जनाएका हुन् ।
ठूलो दलको नेताको हैसियतले वैशाख २७ गते मुख्यमन्त्रीको रूपमा शपथ लिएका गुरुङले संविधानतः एक महिनाभित्र सदनमा आफूसँग बहुमत छ भन्ने सिद्ध गर्नुपर्छ । कानूनीरुपले मुख्यमन्त्री जेठ २९ गतेभित्र विश्वासको मत लिन स्वतन्त्र भए पनि छिटोभन्दा छिटो विश्वासको मत लिएर गतिरोध अन्त्य गर्नुपर्ने विपक्षीले बताएका छन् ।
विनियोजन विधेयक २०७८ को सिद्धान्त र प्राथमिकताबारे छलफल चलिरहेको बेलामा ढिलो नगरी चाँडो विश्वासको मत लिएर गतिरोधको अन्त्य गर्नु पर्ने विपक्षीले अडान लिए पनि मुख्यमन्त्री गुरुङ भने आउँदो जेठ २७ गते विश्वासको मत लिने तयारीमा रहेका देखिन्छन् । असार १ गते बजेट ल्याउनुपर्ने बाध्यकारी व्यवस्था रहेको छ ।