काठमाडौँ, १८ जेठ । जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादव पक्षले पार्टीबाट निष्कासन गरेको केहीबेरमै अर्का अध्यक्ष महन्थ ठाकुर पक्षबाट उपेन्द्र यादवलाई कारबाही गर्दै पार्टीको साधारण सदस्यबाटै हटाइएको छ ।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको र उक्त निर्णय आजै निर्वाचन आयोगमा बुझाउने डा. सुरेन्द्र झाले जानकारी दिएका छन् ।
उता यादव पक्षले भने आजै ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू लक्ष्मण कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरणको जवाफ नदिएको भन्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ । उक्त कारबाहीको जानकारी निर्वाचन आयोगमा दर्ता भइसकेको यादव पक्षीय नेता डम्बर खतिवडाले जानकारी दिएका छन् । यससँगै जसपा औपचारिक रूपमा विभाजन भएको छ ।