बुटवल, १७ जेठ । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा विपक्षी गठबन्धनका उमेद्वार विजयी भएका छन् । नेकपा एमालेका उमेद्वार चन्द्रबहादुर खड्कालाई ५२८ मतभारले पछि पार्दै विपक्षी गठबन्धनका दागनारायण पाण्डेय विजयी भएका हुन् ।
पाण्डेयले ४,१४० मत प्राप्त गर्दा नेकपा एमालेका उमेद्वार चन्द्रबहादुर खड्काले ३,६१२ मत प्राप्त गरेका थिए ।
पाण्डेय यसअघि एमालेका तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्य थिए ।
सांसदबाट राजीनामा दिएर काँग्रेसमा प्रवेश गरेका पाण्डेय कपिलवस्तुको महाराजगन्ज नगरपालिका–१ निवासी हुन् । पाण्डेयलाई काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र उपेन्द्र यादव पक्षीय जनता समाजवादी पार्टी पार्टीको समर्थन थियो । खड्कालाई एमाले, जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षको साथ रहेको थियो ।
विपक्षी गठबन्धनले यस अघि नै आफ्नो जित पक्का भएको बताइसकेको थियो ।