प्रधानमन्त्रीलाई भेट्न महन्थ ठाकुरसहितका जसपा नेता बालुवाटारमा


काठमाडौँ, १७ जेठ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरसहितका नेता प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।पछिल्लो राजनैतिक घटनाक्रम, सरकारमा जसपाको सहभागिता आदिका बारेमा छलफल गर्न जसपाका अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ललगायतका नेताहरू प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगेका हुन् । 

सरकारलाई हेर्ने विषय दृष्टिकोणलाई लिएर जसपा विभाजनको सँघारमा पुगेको छ । जसपाको महन्थ पक्षले सरकारलाई सघाइरहेको छ भने अर्का अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई ओली सरकारलाई जसरी पनि विस्थापन गर्नु पर्छ भन्ने पक्षमा देखिएका छन् ।  

जसपाको कार्यकारिणी समितिमा उपेन्द्र पक्षको बहुमत रहे पनि संसदीय दलमा महन्थ ठाकुरको पक्ष बहुमतमा छ । यही संसदीय दलकै आधारमा ठाकुर पक्षले आफूलाई बहुमत मानिरहेको छ । दुवै अध्यक्षले एकले अर्कोसँग स्पष्टीकरण माग्दै कारबाहीको तयारी गरिरहेका छन् ।सरकारले जसपाले राखेका नागरिकता अध्यादेश, मधेस आन्दोलनका मुद्दा फिर्ता लगायतका माग पुरा गरिसकेको छ । 

सरकार जसपाको महन्थ पक्षलाई ८ मन्त्रालय दिने गरी सरकारमा सहभागी गराउने तयारीमा पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्