सुन्दरहरैंचामा कृषि शाखाद्वारा असिना पानीबाट क्षति भएको तरकारी खेती तथा अन्नबाली अनुगमन गरिने


मणिराम दाहाल – सुन्दरहरैंचा, २७ फागुन । सुन्दरहरैंचा मोरङको सुन्दरहरैंचा स्थित आसपासका क्षेत्रमा गए रातिको हावाहुरी सहितको असिना पानीका कारण अन्नबाली तथा तरकारी खेतीमा क्षति पुगेको छ । तीव्र रूपमा असिना सहित, हावाहुरी र पानी आएका कारण कृषकले लगाएको अन्नबाली तथा तरकारी खेतीमा समेत क्षति पुगेको हो ।

गोड्ने बेला भएको तथा बेसिजनमा भाउ पाउन लगाएको हरियो मकै, तरकारी बालीका साथै वर्षाको समयलाई लक्षित गरी लगाइएका घिरौँला, करेला, काँक्रो, फर्सी ,लौका, लगायतका लहरे बालीका बिरुवामा समेत क्षति पुगेको स्थानीय कृषकहरूको भनाइ रहेको छ। सुन्दरहरैंचा , शुक्रवारेका अगुवा कृषक मोहनलाल श्रेष्ठलेका अनुसार आफूले १ बिगाहा जमिनमा लगाएको टमाटर बालीमा असिना पानीका कारण क्षति पुगेको जानकारी दिए ।

असिनाका कारण फुल्दै गरेको निबुवा, कागती , अम्बा, आँप लगायतका बोटबिरुवा साथै गहुबालीलाई समेत क्षति पुराएको जानकारी प्राप्त भएको छ । असिना पानीका कारण कृषकको अन्नबालीमा भएको क्षतिको अनुगमन गरी कार्यान्वयन तर्फ अघि बढ्ने सुन्दरहरैंचा नगरपालिकाका कृषि शाखा प्रमुख फणीन्द्र भट्टराईले जानकारी दिए ।

उनले बेलडाँगी हुँदै नगरेका ४ वडाको तल्लो भेग तथा २ नम्बर वडाको तरकारी लगायतका अन्नबालीमा क्षति पुगेको बताए । गए राति करिब १०स्३० बजे देखि आएको असिना पानीका कारण घरको छानो र जमिन समेत सेतै बनेको थियो । पानी सँगै एक साथ आएको हावाहुरीका कारण कतिपयको घरको छानु समेत उडाएको छ ।

असिना पानीको दृश्य हेर्न पाउँदा कतिपयले भने रमाइलो महसुस भएको उल्लेख गरेका छन् । कतिपय स्थानीयले असिना पानीको दृश्य अहिले सामाजिक सञ्जालमा कैद गरेर समेत राखेको छन् । असिना पानीका कारण मोरङ ,सुनसरी , झापा लगायत पूर्वी पहाडी जिल्लामा समेत प्रभाव परेको छ ।

प्रतिक्रिया दिनुहोस्