बेलबारी जेसिसद्वारा वृद्ध मगर दम्पतीलाई घर हस्तान्तरण


केशु विरही, बेलबारी । बेलबारी जेसिसद्वारा बेलबारीका एक अशक्त वृद्ध दम्पतीलाई निर्माण गरेर घर हस्तान्तरण गरेको छ ।

नगरपालिका वार्ड नं १ नक्सलबारीका टेकबहादुर मगरले नयाँ घर पाउँदा मक्ख देखिन्थे । उनीहरूलाई यसरी नयाँ घरमा बस्न पाइएला भन्ने दस मनमा एक मन पनि सोचेका थिएनन् । विगत साहारा विहिन रूपमा एउटा सानो छाप्रोमा कष्टपूर्ण जीवन बिताइरहेका मगर दम्पती यसरी घर बनाएर हस्तान्तरण गरेकोमा जेसिसप्रति नतमस्तक देखिन्थे । घर त बन्यो अब खाने र बस्नेको सामान्य व्यवस्था भए हुने थियो भन्ने टेकबहादुरकी श्रीमती चन्द्र मायालाई लागेको छ ।

घर हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथि रहेको प्रदेश सांसद लोकप्रसाद सङ्ग्रौलाले यति धेरै राजकोष खर्च हुँदासमेत विकासको अनुभूति हुन नसकिरहेको अवस्थामा बेलबारी जेसिसले यति चाँडै घर बनाएर वृद्ध वृद्धा लाई हस्तान्तरण गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै राज्यले जेसिसबाट सिक्नु पर्ने बताए । साथै प्रदेश सांसद सङ्ग्रौलाले फरक प्रशंगमा दुई तिहाई नजिकको सरकार भ्रष्टाचारको चङ्गुलमा फसेको बताए ।

उक्त कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाह, वडा नं १ का अध्यक्ष चक्र खुलाल, नेकपाका प्रताप थापा, नेकाका महेन्द्र सुवेदी लगायतकाले आआफ्ना धारणा राखेका थिए । युवाहरूको नेतृत्व र व्यक्तित्व विकासको क्षेत्रमा काम गरिरहेको बेलबारी जेसिसले कार्य सम्पादनका आधारमा १ सय ५१ औँ शाखामध्येबाट उत्कृष्ट शाखाको रूपमा पुरस्कृत भएको छ ।

पैसा हुने मानिसहरूको समाजसेवाप्रतिको आकर्षण नभइरहेको परिप्रेक्ष्यमा पैसा नभर पनि आफूहरूले यति ठुलो काम गर्न सकेकोमा बेलबारी जेसिसका अध्यक्ष राजेश खत्रीले खुसी व्यक्त गर्दै यो कार्यमा सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिए । वृद्ध मगर दम्पतीका कोही आफन्त नरहेको बेलामा गरिए मानवीय काम उदाहरणीय रहेको स्थानीयहरू बताउँछन् ।

आफन्तसमेत नरहेका विगत लामो समय देखि साहारा विहिन रुपमा रहेका मगर दम्पतीलाई घर बनाएर दिने बेलबारी जेसिसको कदम स्वागयोग्यका साथै त्यतिकै अनुकरणीय पनि छ । अरूले पनि बेलबारी जेसिसबाट सिक्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्