९० करोड भुक्तानी पाउन नसकेका उखु किसान फेरि आन्दोलित


काठमाडौं, २८ मंसिर । चिनी मिलबाट ९० करोड भुक्तानी पाउन नसकेका उखु किसानले फेरि काठमाडौंको माइतीघर मण्डलाबाट आइतबारदेखि प्रदर्शन थालेका छन् ।

पुस महिनाको चिसोको पर्वाह नगरी तराईका विभिन्न जिल्लाबाट आएका उखु किसानहरुले आफ्नो किनेका चिनी मिल सञ्चालकबाट बाँकी रकम उठाई दिन उनीहरुले सरकारसँग माग गर्दै आएका छन् । उनीहरुले मिल मालिकसँग बाँकी रकम उठाई दिने सरकारी बाचा पूरा नगरिएकामा पनि आपत्ति जनाएका छन् ।उनीहरूले गत वर्षको पुस १६ गते आफूहरुसँग गरिएको सम्झौता कार्यान्वयन गर्न आग्रह गर्दै माग पूरा नभए सिंहदरबार र बालुवाटार घेराउ गरिने चेतावनी पनि दिएका छन् ।

मंसिर २६ गतेसम्ममा किसानका बाँकी बक्यौता सबै चुक्क्ता गर्न गरिएको सम्झौता एक वर्षसम्ममा मिल मालिकले पूरा नगरेकाले आफ्ना पीडा सुनाउन काठमाडौं नै आउनुपरेको उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले बताएका छन् ।उद्योग मन्त्रीसँग भेटेर आफ्ना समस्या राख्दा सबै पैसा दिलाउने उहाँले गरेको बाचा पनि पूरा नभएको उनीहरुको भनाइ छ । चार वटा चिनी मिलले उखु किसानका करोडौं रुपैयाँ तिर्न बाँकी छ । उखु मिलसँग किसानले अझै ५२ करोडभन्दा धेरै रकम लिन बाँकी रहेको जनाइएको छ ।

सबैभन्दा बढी श्रीराम सुगर मिलसँग २६ करोड, अन्नपूर्ण सुगर मिलसँग १७ करोड, लुम्बिनी सुगर मिलसँग ८ करोड ४१ लाख र इन्दिरा सुगर मिलसँग ४ करोड ७० लाख रुपैयाँ किसानले लिन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्