काठमाडौं, २८ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक शुरु भएको छ । मंसिर २१ गतेबाट शुरु भएको नेकपा स्थायी कमिटीको दोस्रो दिनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको हो ।
आजको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित स्थायी कमिटी सदस्यहरु सहभागी छन् ।
आजको बैठकमा केन्द्रीय सदस्य कमानसिंह लामाको निधनप्रति शोक मनाएर बैठक स्थगित गर्ने कार्यसूची रहेको बताइएको छ । पूर्व सांस्द र पूर्व राजदूत समेत रहेका लामाको कोरोना संक्रमणबाट मंसिर २४ गते निधन भएको थियो ।
मंसिर २१ गतेको बैठकले आजको बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राख्ने निर्णय गरेको थियो । तर, बैठककै दिन बिहान बैठकस्थल परिवर्तन भएको महासचिव विष्णु पौडेलले जानकारी दिए । यसअघि २१ गतेको बैठकमा दुवै अध्यक्षका प्रतिवेदन र आरोप पत्रहरु स्थायी समिति सदस्यहरुलाई अध्ययनका लागि उपलब्ध गराइएको थियो ।