संवैधानिक परिषद्को बैठक स्थगित


काठमाडौं, २८ मंसिर । संवैधानिक परिषद्को आज (आइतबार) को बैठक गणपुरक संख्या नपुगेपछि स्थगित भएको छ । आज ९ बजे संवैधानिक परिषद्को बैठक बोलाइएको थियो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना मात्रै उपस्थित भएपछि आवश्यक संख्या नपुगेको हो ।‘आजको बैठक कोरम नपुगेर स्थगित भयो । विपक्षी दलका नेता र सभामुख नआएपछि बैठक बस्न सक्ने अवस्था संवैधानिकरूपमा छैन’, स्रोतले भन्यो । प्रमुख प्रतिपक्षी दल तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा उपस्थित नभएपछि बैठक अनौपचारिक गफगाफमा परिणत भएको स्रोतको भनाइ छ ।

पार्टीभित्रैको विवादका कारण सभामुख पनि उपस्थित नभएपछि बैठक स्थगित हुन पुगेको स्रोतको जिकिर छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषदको बैठकमा सत्तारुढ नेकपाभित्रकै आन्तरिक विवादको स्पष्ट असर परेको छ । ‘प्रमुख प्रतिपक्षी दलका नेता र सभामुख समेत नआएको बुझियो, सायद गणपुरक संख्या नपुगेकै कारण स्थगित भएको हुनसक्छ,’ बालुवाटार स्रोतले भन्यो ।
पार्टीका दुई अध्यक्ष ओली र प्रचण्डबीच आन्तरिक संघर्ष चर्किरहेको बेला त्यसको प्रभाव संवैधानिक परिषद् बैठकमा पनि परेको हो । सभामुख नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकट मानिन्छन् ।

‘अध्यक्ष र कम्तीमा चार जना अन्य सदस्यहरु उपस्थित भएमा परिषद्को बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ,’ ऐनमा भनिएको छ । संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष, प्रधान न्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभा अध्यक्ष, विपक्षी दलका नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्