सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर


काठमाडौं, २३ मंसिर । सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ । मंगलबार घोषणा गरिएको सगरमाथाको नयाँ उँचाइ ८८४८.८६ मिटर रहेको छ । यसअघि सगरमाथाको उचाइ ८८४८ मिटर थियो ।

नेपाल सरकार र चीन सरकारी टोलीद्वारा छुट्टाछुट्टै रूपमा सगरमाथाको उचाइ मापन गरी प्रतिवेदन दुवैतर्फका प्राविधिकलाई बुझाइएको थियो । मंगलबार नापी विभागमा भूमि सुधार मन्त्रालयका टोलीसहित परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र चीनमा चिनियाँ टोलीद्वारा भर्चुअल रूपमा संयुक्त रूपमा नयाँ उचाइ सार्वजनिक गिरिएको हो ।पहिलो पटक आफ्नै प्राविधिक टोलीबाट सगरमाथाको उचाइ मापन गरेर सार्वजनिक गरेको हो । विभागले १३ करोड रुपैयाँ खर्चेर झण्डै दुई वर्षको अवधिमा सगरमाथाको मापन कार्य सम्पन्न गरेको थियो ।

विसं २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने विषयमा अन्तर्राष्ट्रिय बहस शुरु भएपछि नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ नापेको हो ।

सगरमाथाको उचाइ पहिलो पटक सन् १८४९ मा जर्ज एभरेस्टको नेतृत्वमा सम्पन्न भएको थियो । जसको नामबाट सगरमाथाको अंग्रेजी नाम एभरेस्ट राखिएको हो । सन् १८४९ देखि १८५५ सम्म देहरादुन र बिहारको सोनाखोडाबाट त्रिकोणमितीय विधिबाट सगरमाथाको उचाइ नापिएको थियो ।

सन् १९५४ मा सर्भे अफ इण्डियाले बिहारबाटै गरेको मापनमा सगरमाथाको उचाइ ८ हजार ८४८ मिटर देखिएको थियो । यही उचाइलाई सबैले मान्दै आए पनि पछिल्लो समय चीन र नेपालबीच सगरमाथाको उचाइबारे एकमत थिएन । गत वर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा चीनले संयुक्त रुपमा सगरमाथाको उचाइ घोषणा गर्न सहमत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्