धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरक्षा व्यवस्था कडा


काठमाडौं, २१ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठक केही बेरमा शुरु हुँदैछ । धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको बैठकलाई लक्षित गरी सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

नेकपा कार्यालय वरपर ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । धुम्बाराहीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका डीएसपीको कमाण्डमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने सम्बन्धित नेता बाहेक सञ्चारकर्मीलाई समेत पार्टी कार्यालयमा प्रवेश दिइएको छैन ।त्यस्तै सो क्षेत्रमा नेपाली सेनाको बम डिटेक्टर टोलीले तैनाथ गर्नुका साथै कुकुर समेत परिचालन गरिएको छ ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित हुने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।
आजदेखि शुरु हुने स्थायी समिति बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्तिक २८ मा ल्याएको राजनीतिक प्रस्ताव र मंसिर १३ गते त्यसको जवाफमा प्रधानमन्त्री ओलीको जवाफी प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

दुबै प्रतिवेदनमाथि सचिवालय बैठकले निर्णय गर्न असफल भएपछि शनिबार बसेको सचिवालय बैठकले स्थायी समितिमा लगेर छलफल गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्