महोत्तरी,१८ मंसिर । जनता समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले जनताको बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त गर्ने दिवा सपना नदेख्न चेतावनी दिएका छन् ।
बुधबार महोत्तरीको रौजामा आयोजित रौजा मजार सौन्दर्यीकरण योजनाको शिलान्यास कार्यक्रममा यादवले वर्तमान संघीय सरकारमा संघीय लोकतान्त्रिक गणतन्त्रको भावना विपरित संघीयता विरोधी, स्वेच्छाचारी र सर्वसत्तावादी चरित्र हाबी हुँदै गएको बताए ।
सशस्त्र विद्रोह, जनआन्दोलन र मधेश विद्रोहबाट परास्त भइसकेका शक्तिहरुसँग मोर्चाबन्दी गर्दै नेकपा नेतृत्वको सरकारले संघीयतालाई समाप्त गर्ने षडयन्त्र गरिरहेको उल्लेख गरे । अध्यक्ष यादवले त्यस्ता दृढता गर्नेहरु आफै समाप्त हुने समेत बताए ।
त्यस्ता शक्तिविरुद्ध परिवर्तन पक्षधर शक्तिहरुलाई एकजुट हुन आह्वान गर्दै यादवले जनतालाई समेत सचेत हुन आग्रह गरे । उनले भने, ‘यो २०१७ साल होइन, २०७७ हो । अहिले जनता सचेत र संगठित छन्, संघीयता र गणतन्त्र समाप्त गर्न चाहने शक्तिलाई जनताले समाप्त गरिदिने छन् ।’