पशुपति क्षेत्र पुस १ बाट खुला हुने


काठमाडौं, १७ मंसिर । कोभिड –१९ का कारण वन्द रहेका पशुपति क्षेत्र आगामी पुस १ बाट खुलाउने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपतिमा स्थापना गरिएको वातावरण मैत्री शवदाह गृहको अनावरण गदैँ स्वास्थ्यसम्बन्धी मापदण्डलाई कडाइका साथ पालना गर्दै खुला गर्दै जाने निर्णय मन्त्रिपरिषद बैठकले गरिसकेकाले आगामी पुस १ बाट पशुपति पनि खुला रहने उनले बताएका छन् ।

पशुपति विकास कोषको दाता परिचालन अन्र्तगत रहेर एभरेष्ट बैंक लिमिटेडले दाउराबाट शव जलाउने (आधुनिक वातावरणमैत्री शवदाह गृह) मेशिनको स्थापना गरेको हो ।कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले विश्वका हिन्दुहरुको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई अन्य धर्म, संस्कृति र सम्प्रदायका मानिसहरुको पनि पर्यटकीय गन्तव्यकारुपमा विकास गर्ने काम भइरहेको बताएका छन् ।त्यसका लागि पशुपतिको गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै मन्त्री भट्टराईले भने, ‘यहाँको धार्मिक, सांस्कृति, पुरातात्विक महत्वका पक्षलाई मध्यनजर गर्दै स्थानीयका सरोकाहरुको समेत सम्बोधन हुने गरी गुरुयोजनालाई अन्तिम रुप दिने काम भइरहेको छ, अब पशुपतिमा जे जति विकास निर्माणका काम हुन्छन्, ती सबै त्यहि गुरुयोजना अधिनस्थ भएर हुनेछन् ।’

पशुपतिका धार्मिक–सांस्कृतिक गतिविधि खुला गर्दा स्थानीय निकाय र सरोकारवाल अन्य पक्षसँग समन्वय गरेर स्वास्थ्य मापदण्ड कडाईका साथ पालना गर्न–गराउन पनि मन्त्री भट्टराईले कोषका पदाधिकारीलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्