नेपालमा भाषाको संख्या १३१ पुग्यो


काठमाडौं, १२ मंसिर । भाषा आयोगले गरेको अध्ययनले नेपालमा थप ८ वटा भाषा पत्ता लगाएको छ । योसँगै नेपालमा बोलिने भाषाको संख्या अब १३१ पुगेको छ ।

जनगणना २०६८ को तथ्यांकअनुसार यसअघि नेपालमा भाषाको संख्या १२३ थियो ।आयोगले गरेको अध्ययनले राना थारु, नार फु, चुम (स्यार), पोइके, सेराके (सेके), मारेक(याक्खा, नावा शेर्पा भाषा नेपालमा बोलिने थप भाषा भएको देखाएको छ । आयोगले गरेको अध्ययनको प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाएको छ । यो आयोगको चौथो वार्षीक प्रतिवेदन हो ।

संघीयता कार्यान्वयसँगै मुलुकमा बोलिने भाषाहरूको संरक्षण, संवर्द्धन तथा संघ, प्रदेश र स्थानीय तहमा एकभन्दा बढी भाषा सरकारी कामकाजको भाषा निर्धारणका लागि सिफारिस गर्न सरकारले आयोग गठन गरेको थियो ।

नेपालमा बोलिने केही थप भाषाहरूबारे नयाँ जानकारी मिलेको उल्लेख गर्दै भाषा आयोगको प्रतिवेदनमा भनिएको छ, ‘भाषा आयोग, त्रिभुवन विश्वविद्यालय, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान एवं अनुसन्धाताहरूको अध्ययनका आधारमा थप केही भाषाहरू अस्तित्वमा देखिएका छन् । यी भाषाहरूको विस्तृत अध्ययन हुनुपर्ने र २०७८ को जनगणनाबाट समेत तिनको सत्यापन गरिनु पर्ने देखिन्छ ।’

आयोगले भाषाको जनगणनाको तथ्यांकअनुसार जातजाति तथा भाषाका वक्ताहरूको विवरण ७५३ वटै स्थानीय तहमा पठाएको आयोगका अध्यक्ष डा.लवदेव अवस्थीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्