सुन्दरहरैचा १२ मा मितेरी पुल निर्माणले जोडियो शिव मार्ग प्रणाम टोल : स्थानीय हर्षित


मोरङ, २७ कार्त्तिक । सुन्दरहरैचा वाड नं. १२ मा मितेरी पुल निर्माण सम्पन्न भएसँगै स्थानीयलाई राहत मिलेको छ । बिहीबार शिव मार्ग प्रणाम टोल जोड्ने मितेरी पुलको औपचारिक उद्घाटन गरिएको छ ।
पुलको उद्घाटन सांसद राजकुमार ओझाद्वारा भएको हो । स्थानीयको जनश्रमदानको कारण कम लागतमा, समयमा नै पुल निर्माण सम्भव भएको ओझाले बताए । वाड अध्यक्ष रोशन प्रसाद ढकालको कार्यसम्पादन उत्कृष्ट रहेको ओझाले बताएका छन् । वाड नं. १२ सामाजिक तथा अन्य विकास निर्माणको कार्य उत्कृष्ट रहेको उनले बताए ।
वडा अध्यक्ष हुनु अघि देखी नै स्थानीयले पुल नहुँदा धेरै सास्ती भोक्नु परेको कारण प्राथमिकता मितेरी पुल निर्माणको लागि नगरपालिकामा पहल गरेको वडाध्यक्ष ढकाल बताउँछन् । स्थानीयको जनश्रमदानमा नगरपालिकाको रु.१५ लाख लागतमा पुल निर्माण भएको ढकालले जनाएका छन् । ढकाल भन्छन्, “विकास निर्माण कार्यमा स्थानीय स्व स्फूर्त सक्रिय हुन्छन् । स्थानीयको सक्रियतामा ५६५ मिटर शिव मार्ग असार भित्रै बनाउन सफल भएका छौ ।”
पुल नहुँदा बर्खामा सुकुना खोलाको पानीले स्थानीयलाई निकै नै सास्ती दिएको थियो । स्थानीयका अनुसार खोलामा बाढी आए तर्नै नसकिने, पानी सानो हुँदा ढुङ्गा राखेर टेक्दै तर्नु पर्ने बाध्यता थियो । मुख्य सडक पुग्न र विद्यार्थीलाई सुकुना बहुमुखी क्याम्पस पुग्न मितेरी पुल वरिपरिका स्थानीयलाई लामो दुरी पार्नु पर्ने बाध्यता थियो ।
तर अब ती सबै समस्याको समाधान भएको स्थानीय बत्ताऊ छन् । स्थानीयको जनश्रमदानको कारण कम लागतमा नै पुल निर्माण कार्य सम्पन्न भएको छ । टेन्डर प्रक्रिया अनुसार हो भने सोही स्तरको पुल निर्माणको लागि रु.२० लाख भन्दा बढी लागत लाग्ने थियो भन्ने स्थानीयको अनुमान रहेको छ । तर नगरपालिकाको रु.१५ लाख सहयोग र स्थानीयको रु.१ लाख ६८ हजार बराबरको जनश्रमदानमा रु.१६ लाख ६५ हजारको लागतमा निर्माण सम्पन्न भएको मितेरी पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष शान्तिराम बास्तोला बत्ताऊ छन् ।
मितेरी पुल उद्घाटन कार्यक्रममा सुन्दरहरैचा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज चापागाईँ, नेकपा पार्टी सुन्दरहरैचा नगर कमिटीका अध्यक्ष केदार प्रसाद गुरागाई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन मितेरी पुल निर्माण उपभोक्ता समितिका सचिव आनन्द बस्नेतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्