जोखिम भत्ता नपाएपछि सात डाक्टरले दिए राजीनामा


बुटवल,२७ कात्तिक। बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा कार्यरत ७ जना डाक्टरले राजीनामा दिएका छन् ।

कोरोना जोखिम भत्ता नपाएपछि अस्पतालमा करारमा कार्यरत ७ जना मेडिकल अधिकृतले राजीनामा दिएपछि उपचार सेवा प्रभावित भएको छ । तीन महिनादेखिको जोखिम भत्ता नपाएको भन्दै उनीहरुले राजीनामा दिएका हुन् ।

लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पताललाई जोखिम भत्ता वापतको रकम पठाए पनि आफूहरुले नपाएको एक मेडिकल अधिकृतले बताए ।

डाक्टरहरुले राजीनामा दिएपछि सामाजिक विकास मन्त्री सुदर्शन बरालसँग पनि छलफल भएको र मन्त्री बरालले तिहारपछि जोखिम भत्ता उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । तर काम छोडेका मेडिकल अधिकृतहरुले जोखिम भत्ता पाएपछि मात्र काममा फर्कने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्