कोरोना भाइरसका कारणबाट थप पाँच जनाको मृत्यु


विराटनगर, २७ कार्तिक । प्रदेश–१ मा कोरोना भाइरस संक्रमणबाट विभिन्न जिल्लाका थप पाँच जनाको ज्यान गएको छ ।

कोरोनाबाट ज्यान गुमाउनेमा झापाका दुई, मोरङका दुई र सुनसरीका एक जना छन् । चार जनाको अस्पताल र एक जनाको घरमै मृत्यु भएको हो ।नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा तीन जनाको मृत्यु भएको छ । झापा गौरादह–२ की ४९ वर्षीया महिलाको बिहीबार बिहान ८ बजे मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिएका छन् ।

४ कात्तिकमा भर्ना भएका उनीमा रुघा, खोकी, ज्वरो, श्वासप्रश्वास र वान्ता हुने समस्या थियो । कोरोना पुष्टि भएपछि आइसोलेसनमा भर्ना गरेर उपचार थालिएकी महिलाको तीन सातापछि मृत्यु भएको प्रबन्धक दाहालले बताए ।

सुनसरीको इटहरी–३ की ४० वर्षीया महिलाको पनि नोबेलमै बिहीबार बिहान करिब ८ बजे मृत्यु भएको छ । ज्वरो आउने र श्वास फेर्न गाह्रो हुने समस्या देखिएकी महिलालाई बुधबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

उनलाई बुधबार नै कोरोना पोजेटिभ देखिएको थियो । मोरङको रंगेली नगरपालिका–८ का ५५ वर्षीय पुरुषको पनि बिहीबार बिहान करिब ७ बजे मृत्यु भएको छ । कोरोना संक्रमण देखिएपछि उनलाई १७ कात्तिकमा उपचारका लागि नोबेलमा भर्ना गरिएको थियो ।

झापाको दमक–६ की ४६ वर्षीया महिलाको बुधबार राति ८ बजेतिर मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा ज्यान गएको छ । श्वासप्रश्वासको समस्या देखिएपछि महिलालाई उपचारका लागि बुधबार बिहान ल्याइएको थियो । पीसीआर परीक्षण गराउँदा बुधबार नै पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

मोरङको उर्लाबारी– ८ की ४५ वर्षीया संक्रमित महिलाको होम आइसोलेसनमा बुधबार राति मृत्यु भएको छ । १५ कात्तिकमा कोरोना पोजेटिभ देखिएपछि उनी घरमै बसेकी थिइन् । श्वास फेर्न गाह्रो भएर स्वास्थ्यमा एक्कासी समस्या आए पनि उपचारका लागि अस्पताल लैजान नपाउँदै उनको राति १० बजे मृत्यु भएको प्रहरीले जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्