नेकपा–माओवादीका नेता पक्राउ


काभ्रेपलाञ्चोक, २६ कार्तिक । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा–माओवादीका जिल्ला नेताले व्यापारी–उद्योगीलाई फोनमार्फत धाकधम्की दिई जबरजस्ती चन्दा असुल्ने गरेको सूचनाका आधारमा काभ्रेपलाञ्चोक प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–१२ शङ्खुपाटीचौर एक्लेखेतका ५४ वर्षीय मधुसुधन बजगाई रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए ।

उनका अनुसार बजगाईलाई जबरजस्ती चन्दा असुल्ने गरेको सूचनाका आधारमा पक्राउ गरिएको हो ।खोजतलासका क्रममा आज बजगाईकै निवासमा पुगी सोधपुछका क्रममा प्रहरी टोलीप्रति नै अपशब्द प्रयोग गरेकाले तत्कालै पक्राउ गरिएको जनाइएको छ । आफू नेकपा–माओवादीका जिल्ला सदस्य भई पार्टीको नीति–निर्देशनअनुसार काम गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धनका क्रममा बजगाईले स्वीकारेका छन् ।

बजगाईलाई मुलुकी अपराध, २०७४ को परिच्छेद–५ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्ध कसुरअन्तर्गत दफा ११८ अभद्र व्यवहार गर्न नहुने कसुर शीर्षकमा मुद्दा दर्ता भई आजै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रनाउ थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्