चुरोटको विषयमा साथीको हत्या


गण्डकी, २६ कार्तिक । ढुङ्गाले टाउकोमा प्रहार गरी दाङ घोराही घर भई कवाडी सङ्कलन गर्ने २५ वर्षीय सहकर्मी कृष्ण चौधरीको हत्या गरेर फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुली सुनकोशी गाउँपालिका–१ निवासी २३ वर्षीय नन्दलाल श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पर्यटकीय नगरी पोखराको लेकसाइडस्थित वसुन्धरा पार्कमा कात्तिक २२ गते हत्या गरी फरार रहेका श्रेष्ठलाई मङ्गलबार तनहुँ आबुखैरेनीबाट पक्राउ गरिएको हो ।

कवाडी सङ्कलन गरी बिक्री गर्ने चौधरी र श्रेष्ठबीच रक्सीको नसामा चुरोटको विषयलाई लिएर सामान्य भनाभन हुँदा रिसको आवेगमा श्रेष्ठले चौधरीको टाउकोमा तीन पटकसम्म ढुङ्गा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचाररत चौधरीको कात्तिक २२ गते नै मृत्यु भएको प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्