मन्त्रिमण्डल पुनर्गठनको मापदण्ड बनाउनेमा छलफल


काठमाडौं, ६ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज (मंगलबार) दिउँसो १२ः ३० बजे शुरु भएको हो ।

बैठकले मन्त्रिमण्डल पुनर्गठनको मापदण्ड बनाउने स्रोतले जानकारी दिएको छ । यस्तै संवैधनिक आयोगको पदाधिकारी नियुक्तिको विषयमा पनि त्यसका लागि पदाधिकारी चयनका आधार तय गर्ने सम्भावना रहेको स्रोतले बताएको छ ।

मन्त्रिमण्डल पुनर्गठनको विषयमा प्रधानमन्त्री ओलीले सारेका अवधारणा प्रधानमन्त्री बाहेक सबैलाई राजीनामा गराएर पुरै नयाँ ढंगबाट मन्त्रिमण्डल गठन गर्ने, राम्रो काम गरेकालाई राखेर बाँकीलाई हटाउने र खालि रहेका मन्त्रालय र अन्यमा सामान्य फेरबदल मात्रै गर्ने प्रस्तावहरुमाथि छलफल भएको तर टुंगो लागेको छैन ।

पार्टीका उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई मन्त्री बनाउनुपर्ने पक्षमा कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र गृहमन्त्री रामबहादुर थापा रहेको नेताहरुको भनाइ छ ।

आजको बैठकमा यसबारे एउटा समझदारी बनाएर छनोट गर्ने जिम्मा अध्यक्षद्वयलाई दिने सम्भावना रहेको एक सचिवालय सदस्यले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्