आजबाट आन्तरिक उडान शुरु


काठमाडौं, ५ असोज । आज (सोमबार) बाट देशभरका विमानस्थलमा आन्तरिक उडान शुरु भएको छ ।

कोभिड–१९ का कारण सरकारले ११ चैतदेखि बन्द गरेको आन्तरिक उडान ५ असोजबाट खुलाउने निर्णय गरेको थियो ।

शुरुमा सामान्य अवस्थाको २५ प्रतिशत मात्रै उडान हुने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजनले पोखरेलले बताएका छन् । उनका अनुसार सुरुका दिनमा ३६ देखि ४० उडान हुनेछ ।

स्वास्थ्य मापदण्ड पूरा गर्नका लागि विमानस्थलभित्रको प्रक्रिया भने कम्तीमा एक घण्टा लम्बिएको छ । अब विगतमा एक घण्टाअगाडि विमानस्थल जानुपर्ने यात्रु दुई घण्टाअगाडि जानुपर्ने व्यवस्था गरिएको छ । नेपाल वायुसेवा निगमले सातामा १० आन्तरिक उडान गर्ने भएको छ ।

बुद्ध एयरले सोमबारबाट हवाई यात्रामा लागू हुने नियमलाई ‘पास मोडल’का रूपमा व्याख्या गरेको छ । पास (पिएएसएस) अर्थात् प्यासेन्जर, एयरपोर्ट, एयरक्राफ्ट र स्टाफ भनेको छ । प्रोटोकलमा सबै यात्रुले मास्क लगाई हात स्यानिटाइज गर्नुपर्ने व्यवस्था छ ।

विमानस्थलभित्र कम्तीमा १ मिटरको भौतिक दूरी कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । इ–टिकेटबाट मात्रै चेकइन हुनेछ । सबै यात्रुका लागि विमानस्थलमा दोहोरो तापक्रम चेकजाँच र स्यानिटाइजरको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्