पाँच दिनसम्म देशभरी मेघगर्जन, चट्याङ र हावाहुरीसहितको भारी वर्षा हुने


काठमाडौं, ५ असोज । आज (सोमबार) देखि पाँच दिनसम्म देशभरी मेघगर्जन, चट्याङ र हावाहुरीसहितको भारी वर्षा हुने पूर्वानुमान गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल उत्तर–पूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम, उत्तर–पश्चिमतर्फ सर्ने क्रममा नेपालका विभिन्न भागमा भारी वर्षा हुने विभागको अनुमान छ । हावाहुरीसहित अधिक बर्षाको सम्भावना भएकाले आगामी शुक्रबारसम्म आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

आज दिउँसो देशभर सामान्यतया बद्ली भएर केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद शान्ति कँडेलले जनकारी दिएकी छन् । प्रदेश–१ र २ का केही ठाउँहरुमा हावाहुरीको समेत सम्भावना छ ।

राति प्रदेश–१, २ र वाग्मती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । प्रदेश १, २ वाग्मती, गण्डकी र प्रदेश–५ का केही ठाउँमा हावाहुरी समेत आउने सम्भावना छ ।

यस्तै भोलिदेखि आउने शुक्रबारसम्म नै प्रदेश–१, २, वाग्मती, गण्डकी, प्रदेश–५ र सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् कँडेलले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्