बिजुलीबाट लामो दूरी चल्ने मिनी बस आजबाट सञ्चालन


काठमाडौं, २ असोज । काठमाडौंबाट रामेछापको सदरमुकाम मन्थलीसम्म बिजुलीबाट चल्ने मिनी बस आजबाट सञ्चालनमा ल्याइएको छ ।

श्री भवलक्ष्मी इन्भेस्टमेन्ट कम्पनी प्रालिले पहिलोपटक लामो दूरी चल्ने मिनी बसको आज एक समारोहबीच पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले शुभारम्भ गरेका हुन् । विद्युतीय सवारी साधनलाई कर लगाउनु उपयुक्त नभएको बताउँदै पूर्व प्रधानमन्त्री नेपालले यस्ता सवारीलाई प्रोत्साहन पुग्ने गरी नीतिगत व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् ।

कोटेश्वरबाट आज दुई वटा मिनी बस मन्थलीतर्फ प्रस्थान गरेका छन् ।सो अवसरमा उनले आयातित इन्धन डिजेल र पेट्रोललाई विस्थापित गरी स्वदेशी विद्युतबाट सवारी साधन सञ्चालन गर्दा वातावरणीय स्वच्छता कायम हुनुको साथै राष्ट्रिय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुग्ने बताए ।

२० सिट क्षमता रहेका ती मिनी बस एनबी ग्रीनटेक इन्टरनेशनल प्रालिले चीनबाट भित्र्याएको हो । कम्पनीका प्रबन्ध निर्देशक नेमकृष्ण मानन्धरका अनुसार मिनी बसमा ८६ किलोवाट घण्टा लिथियम ब्याट्री, पिकपावर ११० किलोवाटको इलेक्ट्रिक मोटर, एयर कण्डिशनर, मोवाइल चार्जर, एयरब्यागका साथै आरामदायी फोल्डिङ सिट रहेका छन् । गाडीको अधिकतम् गति ११० किलोमिटर प्रतिघण्टा रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्