कम्युटर प्रणालीमार्फत लामो दूरीका बस ‘टिकट बुकिङ’ खुला


काठमाडौं, १, असोज । कम्युटर प्रणालीमार्फत लामो दूरीका बस ‘टिकट बुकिङ’ काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कबाट खुला गरिएको छ ।

मन्त्रीपरिषद्को बैठकले असोज १ देखि सार्वजनिक यातायात खुला गर्ने निर्णय गरेसँगै आजदेखि कम्युटर प्रणालीमार्फत ‘टिकट बुकिङ’ खुला गरेको हो । टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन आउने यात्रु समेत बढेका छन् ।

नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दीपक कुँवर बसपार्कका कर्मचारी, चालक, सहचालक र यात्रुलाई कोरोना सङ्क्रमण हुन नदिन तथा सामाजिक दूरी कायम गरी यात्रुलाई सुरक्षित रुपमा गन्तव्यस्थलसम्म लैजाने वातावरण निर्माणका लागि टिकट बुकिङलाई कम्युटर प्रणालीमा लगिएको बताउँछन् ।

आजैदेखि काठमाडौंबाट प्रदेश नं १ को ताप्लेजुङ, संखुवासभा, भोजपुर, धनकुटा, सुनसरी, झापा, मोरङ, तेह्रथुम र उदयपुर र प्रदेश २ को सिरहा र सप्तरी जाने ५४ बस कम्पनीले कम्युटर प्रणालीमार्फत अनलाइन टिकट बुकिङ शुरु गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्