प्रदेश १ लाई आगामी ५ बर्षभित्र बाल विवाह मुक्त प्रदेश बनाईने : मुख्यमन्त्री राई


विराटनगर,२९ भदौँ । प्रदेश १ लाई आगामी ५ बर्षभित्रमा बाल विवाह मुक्त प्रदेश बनाईने प्रदेश १ सरकारले जनाएको छ ।

राष्ट्रिय बाल दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले तयार गरेको बालबालिकाको स्थिति प्रतिवेदन आज सार्वजनिक गर्दै सन् २०२५ भित्रमा बाल विवाह मुक्त प्रदेश निर्माणका लागि सरकारले तयारी शुरु गरिसकेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताए । सामाजिक संघ संस्था, सरोकारवाला व्यक्तिहरु सबैको सहभागिता आवस्यक रहेको मुख्यमन्त्री राईले बताए ।

कार्यक्रममा भूमी व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर रानाले बाल विवाह र बालश्रममा सुधार हुन नसकेको बताएका छन् ।

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले हाल सम्म प्रदेश १ मा ५३ जना सडक बालबालिकाको उद्धार भएको बताए ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार प्रदेश १ मा ५१ दशमलव ८ प्रतिशत बालिका र २१ दशमलव ७ प्रतिशत बालकहरुको २० वर्षभन्दा कम उमेरमा विवाह हुने गरेको बताए । उहाँले प्रदेश १ मा ३७ दशमलव ४ प्रतिशत बालबालिका श्रममा रहेको बताए।

प्रतिक्रिया दिनुहोस्