कोशी लोकमार्गमा पहिरोको समस्या


धनकुटा,२९ भदौ । कोशी लोकमार्ग अन्तर्गत धनकुटाको रुद्रबारी–गुठीटार सडक–खण्डको खुरिलामा पहिरो झर्दा सडक अवरुद्ध भएको छ ।

केहि दिनदेखि अविरल वर्षाका कारण पुनः सडक भासिनुको साथै पहिरो झर्न थालेपछि सयौं सवारी जाममा पर्नुको साथै यात्रुहरुलाई सास्ती हुने जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले बताएका छन् ।

डिभिजन सडक कार्यालय धनकुटाका प्रमुख दानकुमार शाक्यले सडक जति मर्मत गरे पनि निरन्तर रूपमा भासिइरहेकाले यात्रा गर्न जोखिम कायमै रहेको बताए । अहिले सडक २ स्टेप बनाएर सडक भासिएको स्थानमा यातायात सञ्चालन गरिरहेको प्रमुख शाक्यले जानकारी दिएका छन् ।

सडक माथिबाट पहिरो झर्ने क्रम नरोकिएको र तलबाट पनि बग्ने क्रम नरोकिएकोले २ स्टेपमध्ये एक स्टेप बगेर गएपछि सडक ठीक लेभलमा आउने शाक्यले बताएका छन् । पानी परिरहेकाले सडकमा बढी मात्रामा हिलो भएको कारण सडक बढी जाम भएको शाक्यको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्