बन्दुकसहित दुई ज्येष्ठ नागरिक पक्राउ


स्याङजा, २९ भदौं । पुतलीबजार नगरपालिकामा रहेको बन्दुकसहित दुई ज्येष्ठ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पुतलीबजार नगरपालिका–७ मोहरिया झग्रीडाँडाका ६९ वर्षीय भीमबहादुर ठकुरी र सोही ठाउँका ६० वर्षीय ओबहादुर हमाललाई प्रहरीले चार थानबन्दुकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताएका छन् ।

अवैधरूपमा हातहतियार राखेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले ठकुरी र हमालको घरमा खानतलासी गर्ने क्रममा भरुवा बन्दुकसहित बन्दुकमा प्रयोग हुने सामग्री समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैलाई हातहतियार तथा खरखजनासम्बन्धी कसूर मुद्दा दर्ता गरी जिल्ला अदालत स्याङ्जाबाट २५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्