सुन्दरहरैंचामा भोकमरीका कारण बाबुले गरे आत्महत्या : सन्तानको बिचल्ली


मणिराम दाहाल –

सुन्दरहरैंचा, २७ भदौ । कोरोना कहरका कारण लामो समयदेखि भएको लकडाउन तथा बन्दका कारणले आर्थिक मन्दी भए पछि ठेला चलाउने व्यवसायमा समेत समस्या भएको हुँदा भोकमरी सहन नसकेर मोरङ सुन्दरहरैंचाका एक व्यक्तिले आत्महत्या गरेका छन् ।

सुन्दरहरैंचा १० सुकुम्वासी बस्तीका ४७ वर्षीय अशोक दर्जीले भाेकमारी काे पीडा सहन नसकेर आफ्नै घरमा आत्महत्या गरेका हुन् । दर्जीले आत्महत्या गरेपछि अहिले उनको परिवारमा ससाना छोराछोरीको बिचल्ली भएको छ । वैदेशिक रोजगारीको लागि भारत गएकी अशोककी श्रीमती पनि उतै अलपत्रमा छिन् । विदेश पठाउने भन्दै दलालले श्रीमतीलाई दिल्ली पुर्‍याएका थिए । दिल्ली पुग्ने बित्तिकै लकडाउन सुरु भएकोले बेखर्ची भएर उनी दिल्लीमा अलपत्र परेकी छन् । धन कमाउने तथा राम्रो दिन फेरिने आशामा अशोककी श्रीमती विदेश जान तयार भएकी हुन तर दलालले दिल्ली पुर्‍याएर अलपत्र पारिदिए । अशोकको परिवारमा अहिले पीडा माथि पीडा थपिएको छ।

अशोक लामो समय देखि ठेला चलाउने व्यति हुन । लकडाउन सुरु हुनुभन्दा केही महिना अघिदेखि उनले निर्माण मजदुरको काम पाएको भए पनि लकडाउनले उनको काम रोकिएर परिवार पाल्न थप समस्या भएको थियो । लकडाउन अघि उनले दुःख गरेर दैनिकी चलाएर ६ जनाको परिवार जसोतसो पालेका थिए । लामो समय देखि बन्द र लकडाउन भएर आर्थिक मन्दी भएर आफूले कमाउँदै आएको आम्दानीको स्रोत एकाएक घटे पछि उनको घरमा खाने अन्न समेत भएन ।

केही दिनअघि उनले परिवार पाल्नकै लागि घरमा भएको सिलिन्डर ग्यास चल्यो लगायतका केही समान समेत बेचेको भए पनि त्यसले पनि पुगेन । सुन्दरहरैंचा नगरपालिका–१० का वडाध्यक्ष राजेन्द्रबहादुर थापाले आर्थिक अवस्था अति कमजोर भएका दर्जीले आत्महत्या गरेको बताए । मृत्युपछि आर्थिक अवस्था कमजोर भएको परिवारलाई संघसंंस्थाले सहयोग गरिरहेको समेत थापाले उल्लेख गरे ।

अति गरिब भएको कारणले भोकमरीकाे पीडा सहन नसकेर आत्महत्याको बाटो रोजेको तथा अशोकले आत्महत्या गरेपछि १७ र १५ वर्षकी छोरी र १३ वर्षका छोराको अहिले बिचल्ली भएको दलित उत्थान समन्वय समितिका नगर अध्यक्ष कुमार मिजारले बताए । अशोककी २१ वर्षीय छोरीको भने घर नजिकै रहेको चौधरी परिवारमा विवाह भइसकेको तथा एक छोरी अपाङ्ग रहेकी मिजारले उल्लेख गरे । अशोकको आत्महत्यापछि आफूहरूको टोली घटनास्थल पुगेर हेर्दा छातीमा राख्नका लागि घरमा एक मानो चामल समेत नभएकोले चन्दा उठाएर पोष्टमार्टम गरेर दाहसंस्कार गरेको मिजारले बताए ।

उनले मजदुरी गरेर गुजारा चलाउने दर्जीले आर्थिक अवस्था कमजोर भएका कारण आत्महत्या गरेको हुन सक्ने अनुमान स्थानीयहरूले गरेको तथा अशोकको परिवार विपन्न भएकोले छोरा–छोरीले मागेर खाना खाएको उल्लेख गर्दै भोकमरी सहन नसकेर दर्जीले आत्महत्या गरेका कारण दिल्लीमा अलपत्र परेकी श्रीमतीलाई फर्काउन समस्या भएको मिजारले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्