बीपी कोइरालाको १०७ औं जन्मजयन्ती तीन दिनसम्म मनाउने


काठमाडौं,२३ भदौ । बीपी कोइरालाको १०७ औं जन्मजयन्ती तीन दिनसम्म नेपाली कांग्रेस केन्द्रीय समितिले विचार गोष्ठी गरेर मनाउने भएको छ ।

भदौ २४, २५ र २६ गते जुम एपमार्फत् ‘बीपीको विचार नेपालको समन्नतिको मूल बाटो’, ‘नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीतिमा वीपीको योगदान’ र ‘विचार निर्माण एवं प्रचारमा वीपीको शैलीको आलोकमा अबको रणनीति’ शीर्षकमा विचार गोष्ठी गरेर बीपीको जन्मजयन्ती मनाइने भएको छ ।

भदौ २४ गते दिउँसो १ बजे ‘बीपीको विचार नेपालको समन्नतिको मूल बाटो’ विषयको विचार गोष्ठीको कार्यक्रममा मुख्य वक्ताको रुपमा पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेललगायत सहभागी हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

यसैगरी भदौ २५ गते दिउँसो १ बजे नै ‘नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीतिमा वीपीको योगदान’ विषयमा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले संयोजन गर्ने सो कार्यक्रममा उपसभापति विमलेन्द्र निधि र विज्ञहरुको सहभागीता रहने छ ।

यसैगरी भदौ २६ गते दिउँसो १ बजे नै ‘विचार निर्माण एवं प्रचारमा वीपीको शैलीको आलोकमा अबको रणनीति’ विषयमा सूचना, संचार तथा प्रचार विभागले संयोजन गर्ने यो कार्यक्रममा नरहरी आचार्य, प्रदीप गिरिलगायतका नेताहरु वक्ताका रुपमा रहने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले जानकारी दिए ।

कांग्रेसले बीपी जयन्ती भौतिक दुरी कायम गरेर, मास्क प्रयोग गरेर वा भर्चुअल विधिबाट मनाउन जिल्ला र विदेशस्थित सम्पर्क समितिलाई एक साताअघि नै परिपत्र गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्