भारतीय नागरिकको समूहले कुटपिट गर्दा रामदेव यादवको मृत्यु


सप्तरी, २२ भदौ । नेपाल–भारत सीमा क्षेत्रमा भारतीय नागरिकको समूहले कुटपिट गर्दा सप्तरीको डाक्नेश्री नगरपालिका वडा नं.६ औरही निवासी रामदेव यादवको मृत्यु भएको छ ।

भारतीय नागरिकले गत भदौ ६ गते कुटपिट गर्दा ६५ वर्षीय यादवको उपचारको क्रममा आइतबार राति बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तिलक भारतीले बताएका छन् ।

स्थानीयका अनुसार यादवले सीमा नजिकैको आफ्नो जग्गामा लगाएको धानबालीमा भारत बिहारको मधुवनी जिल्ला लौकहीका ७र८ जना युवक भैंसी चराउन आएका थिए ।
धानबालीमै भैंसी चराइरहेको देखेर यादव र उनका छोरा ललनले गाली गर्दा भारतीय समूहले लाठी तथा बाँसको भाटाले कुटपिट गरेको स्थानीयको भनाइ छ ।

कुटपिटबाट गम्भीर घाइते भएका यादवलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइए पनि यहाँबाट विराटनगर रेफर गरिएको थियो । तर ५ दिनसम्म विराटनगरका सबै अस्पताल घुमाउँदासमेत कुनै अस्पतालले भर्ना नलिएको मृतक यादवका छोरा ललनले बताए ।

विराटनगरका अस्पतालले भर्ना नलिएपछि उनलाई धरान लगिएको थियो । धरानको अस्पतालले भर्ना लिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुटपिटमा संलग्नमध्ये एकजना भारतीयलाई नेपालतर्फ नै भैंसी चराउन आएको अवस्थामा स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन् ।

पक्राउ परेका भारतको लौकहीका १९ वर्षीय प्रदीपकुमार यादवलाई इलाका प्रहरी कार्यालयले कुटपिट शीर्षकमा मुद्दा चलाइए पनि अब ज्यान मुद्दा शीर्षकमा मुद्दा चलाइने प्रहरी प्रबक्ता तिवारीले बताए ।

प्रतिक्रिया दिनुहोस्