प्रदेश १ मा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला निर्माण गरिने


विराटनगर, ७ भदौ । प्रदेश १ मा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला निर्माण गरिने भएको छ । एक वर्ष भित्रमा निर्माण सम्पन्न हुने गरी सामाजिक विकास मन्त्रालयले प्रक्रिया अघि बढाएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएपछि गुणस्तरीय ल्याब परीक्षणका लागि काठमाण्डौं, भारतको दिल्ली सम्म जानुपर्ने बाध्यताको अन्त्य हुने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । उहाँले प्रयोगशालाले प्रभावकारी, गुणस्तरीय र सुलभमूल्यमा सेवा दिने बताउनुभयो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाले प्रदेश भरी सञ्चालन हुने प्रयोगशालाको सञ्चालन स्वीकृति दिने, नियमित अनुगमन र गुणस्तर मापनको काम गर्ने जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले बताउनुभयो । उहाँले प्रयोगशालाले महामारीका समयमा विशेष परीक्षण गर्ने, प्रयोगशालाकर्मीको क्षमता विकास तालिम दिने, विगतमा फैलिएको महामारी देखा परेमा पुन पहिचान गरिने र नयाँ रोगको परीक्षण गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रयोगशालाको गुणस्तर मापनका लागि समन्वय र सहकार्य गर्ने बताउनुभयो ।

प्रयोगशाला स्नातकोत्तर क्याम्पस विराटनगरको जमिनमा निर्माण गरिने भएको छ । मन्त्रालयले क्याम्पससँग जग्गा प्राप्ति सम्बन्धी आज सम्झौता गरेको छ । मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की र क्याम्पस प्रमुख महेशकुमार खत्रीले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

प्रयोगशालाको भवन सेभ द चिल्ड्रेनले निर्माण गर्ने भएको मन्त्रालयका सचिव कार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्