काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलो ८ सय ग्राम थाई गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरोका अनुसार भारतको केरला राज्यका अब्दुल नौशादलाई मंसिर ८ गते विमानस्थलबाट नियन्त्रणमा लिइएको हो ।
लागुऔषध नियन्त्रण ब्युरोको प्रेस विज्ञप्ति र सार्वजनिक समाचार विवरणअनुसार पक्राउ पर्ने व्यक्ति भारतको केरला राज्यअन्तर्गत मुलरिया निवासी २९ वर्षीय अब्दुल नौशाद हुन् । उनी थाइल्यान्डबाट मलेसियाको क्वालालम्पुर हुँदै बटिक एयरको उडान नम्बर ओडी-१८२ मार्फत काठमाडौं आइपुगेका थिए ।
ब्युरोको विमानस्थल शाखाबाट खटिएको प्रहरी टोलीले शंकास्पद यात्रुमाथि निगरानी गर्ने क्रममा नौशादलाई नियन्त्रणमा लिएको हो । उनको साथबाट ४ किलो ८ सय ग्राम थाई गाँजा, एक थान राहदानी र एक थान मोबाइल फोन बरामद भएको ब्युरोले जनाएको छ ।
लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार पक्राउ परेका नौशादमाथि थप अनुसन्धान भइरहेको छ ।


