काठमाडौं । स्रोत नखुलेको नेपाली तथा विदेशी मुद्रासहित काठमाडौं र रुपन्देहीबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना माल्दिभ्सका नागरिक र दुई जना नेपाली नागरिक रहेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले मंसिर १० गते सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँको ठमेलस्थित स्नोलाइन होटलबाट ५० लाख ५० हजार नेपाली रुपैयाँसहित दुई जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा माल्दिभ्सका नागरिक युगीथ इब्राहिम र चितवन घर भई काठमाडौँको ठमेल बस्दै आएकी २० वर्षीया स्नेहा रिमाल रहेका छन् ।
प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका-१७ स्थित होटेलको कोठा नम्बर १०४ मा खानतलासी गर्दा उनीहरूको साथबाट नेपाली रुपैयाँ ५० लाख ५० हजार, ४ हजार २१५.०९ ओमानी रियाल र ५५ संयुक्त अरब इमिरेट्स (यूएई) दिराम बरामद गरेको प्रहरीले जनाएको छ ।
यसै गरी, रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ पिपलबोटबाट स्रोत नखुलेको भारतीय रुपैयाँ ५ लाख ५० हजारसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको कुशीनगर, धौडादी, कप्तानगन्ज थाना क्षेत्रका ४५ वर्षीय सन्तोष सिंह रहेका छन् । इलाका प्रहरी कार्यालय बेलहियासमेतबाट खटिएको प्रहरी टोलीले उनलाई बुधवार साँझ उक्त रकमसहित नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार तीनै जनामाथि बरामद रकमको स्रोत खुलाउनेलगायत विषयमा आवश्यक अनुसन्धान भइरहेको छ ।


