लुम्बिनीलाई १० विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स पहिलोपटक एनपीएल च्याम्पियन


काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलोपटक उपाधि उचालेको हो ।

लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले कुनै विकेट नगुमाई १३.३ ओभरमै पूरा गर्‍यो । सुदूरपश्चिमका ओपनर जर्ज मुन्सेले विस्फोटक ब्याटिङ गर्दै ५४ बलमा अविजित १२५ रन बनाए । उनले आफ्नो इनिङ्समा १२ छक्का र आठ चौका प्रहार गरे ।

अर्का ओपनर विनोद भण्डारीले अविजित ३० रनको योगदान दिए । मुन्से र भण्डारीबीचको अविजित साझेदारीले सुदूरपश्चिमलाई सहज जित दिलायो । मुन्सेको शतक एनपीएल इतिहासकै एक खेलमा बनेको सर्वाधिक व्यक्तिगत स्कोरसमेत बनेको छ ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । लुम्बिनीका दिलीप नाथले अविजित ३९ रन बनाए। कप्तान रोहित पौडेलले ३०, निरोशन डिकवेलाले २८ र अली शेखले २४ रन जोडे । सुदूरपश्चिमका बलर स्कट कुगेलेइनले दुई विकेट लिए । कप्तान दीपेन्द्रसिंह ऐरी, हेमन्त धामी र थारिन्दु रत्नायकेले समान एक-एक विकेट लिए ।

यससँगै सुदूरपश्चिमले लगातार तेस्रोपटक फाइनल खेलेर पहिलोपटक उपाधि जित्न सफल भएको छ । यसअघिका दुवै संस्करणमा फाइनल पुगे पनि टोली उपविजेतामै सीमित भएको थियो । पहिलो संस्करणमा जनकपुर बोल्ट्ससँग र दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिमले यसपटक साविक विजेतालाई नै हराउँदै उपाधि आफ्नो नाममा लेखाएको हो ।

तेस्रो संस्करणको उपाधि जितेसँगै सुदूरपश्चिम रोयल्स एनपीएलको च्याम्पियन बन्ने तेस्रो टोलीसमेत बनेको छ ।

प्रतिक्रिया दिनुहोस्