स्थानीयको पहलमा सलकपुर बजार झिलिमिली : तिहार लक्षित विशेष बत्ती जडान


सुन्दरहरैँचा, मोरङ । सामुदायिक सहकार्य र स्थानीयको सक्रियतामा मोरङको सुन्दरहरैँचा नगरपालिका-८ स्थित सलकपुर बजारलाई तिहारको अवसरमा विशेष रूपमा सिँगारिएको छ । बजारको रात्रिकालीन सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले स्थानीय बासिन्दाको आर्थिक सहयोगमा विभिन्न स्थानमा आकर्षक बत्ती जडान गरिएको हो ।

तिहारलाई लक्षित गरी सञ्चालन गरिएको यस अभियानले सलकपुर बजारको स्वरूपलाई थप आकर्षक बनाउनुका साथै साँझपख बजार क्षेत्रलाई उज्यालो र मनमोहक बनाएको छ । बजारको सौन्दर्यीकरणसँगै चाडपर्वको उल्लास बढाउने उद्देश्यले स्थानीय स्तरबाटै स्रोत संकलन गरी बत्ती जडान गरिएको अभियानमा संलग्नहरूले बताएका छन् ।

बत्ती जडानका लागि सरोज भट्टराई, राजु खड्का र सरोज श्रेष्ठलगायत स्थानीय अगुवाहरूले समन्वय तथा नेतृत्व गरेका थिए । उनीहरूको पहलमा बजार क्षेत्रका बासिन्दाबाट आर्थिक सहयोग संकलन गरी सामूहिक रूपमा कार्यक्रम सम्पन्न गरिएको हो । अभियानमा सलकपुर तथा आसपासका स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको थियो ।

स्थानीय स्रोत, साधन र सहभागिताको परिचालनमार्फत सम्पन्न यस कार्यले बजारको भौतिक आकर्षण बढाउनुका साथै सामुदायिक एकता र सहकार्यको उदाहरणसमेत प्रस्तुत गरेको छ । सार्वजनिक क्षेत्रको विकास र सौन्दर्यीकरणका लागि स्थानीय तहबाटै पहल गर्न सकिने सन्देश यस अभियानले दिएको छ ।

तिहार तथा दीपावलीलाई लक्षित गरी गरिएको बत्ती जडानले सलकपुर बजारको रात्रिकालीन आकर्षण बढाउनुका साथै बजारको पहिचान स्थापित गर्न र स्थानीय व्यापारिक गतिविधिलाई समेत प्रोत्साहन पुग्ने स्थानीय बत्ताउँछन् ।

प्रतिक्रिया दिनुहोस्