सङ्गीता राई – पथरी । विद्यालय स्तरमा बुद्धिचाल खेलको विकास, प्रतिभावान् खेलाडीको पहिचान र नयाँ पुस्तालाई बौद्धिक खेलप्रति आकर्षित गर्ने उद्देश्यले मोरङको पथरीशनिश्चरेमा तेस्रो ‘सुशीला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस च्याम्पियनसिप-२०८३’ आयोजना हुने भएको छ ।
पथरीशनिश्चरे बुद्धिचाल संघको आयोजनामा कार्तिक २७ देखि मंसिर १ गतेसम्म प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ । पथरीशनिश्चरेस्थित एभरेष्ट इंग्लिस बोर्डिङ स्कुल प्रतियोगिताको टाइटल स्पोन्सर रहेको छ भने प्रतियोगिता पनि सोही विद्यालयमा हुनेछ ।
पथरीशनिश्चरे बुद्धिचाल संघका संस्थापक अध्यक्ष डम्बर राईका अनुसार प्रतियोगितामा नगरभित्रका सरकारी तथा निजी विद्यालयहरूको सहभागिता रहनेछ । प्रत्येक विद्यालयबाट तीन जना खेलाडी समावेश गरी टिमगत प्रतिस्पर्धा गराइनेछ । प्रतियोगिता स्विस लिग प्रणालीअनुसार नौ राउन्डमा सञ्चालन हुने आर्बिटर राईले जानकारी दिएका छन् ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयले क्रमशः १० हजार, ५ हजार र ३ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी महिला च्याम्पियन र जुनियर च्याम्पियनसहित विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ । आयोजकले महिला तथा जुनियर विधासहित कुल १३ वटा पुरस्कारको व्यवस्था गरेको जनाएको छ ।
प्रतियोगिताको नाम स्वर्गीय सुशीला कन्दङ्वाको स्मृतिमा राखिएको हो । उनी एभरेष्ट बोर्डिङ स्कुलका संस्थापक स्वर्गीय चन्द्रमान कन्दङ्वाकी धर्मपत्नी तथा विद्यालयका वर्तमान सञ्चालक निर्देशक रविन कन्दङ्वा र दिनेश कन्दङ्वाकी आमा हुन् ।
विद्यालयकी संस्थापक सदस्यसमेत रहेकी सुशीला कन्दङ्वाको स्मृतिलाई जीवन्त राख्दै बुद्धिचाल खेल र खेलाडीको विकासमा योगदान पुर्याउने उद्देश्यले एभरेष्ट बोर्डिङ स्कुलले प्रतियोगिताको टाइटल स्पोन्सर गर्दै आएको छ । यसअघिका दुई संस्करणमा पनि एभरेष्ट बोर्डिङ स्कुलले लगातार उपाधि जितेको आयोजकले जनाएको छ ।


