सङ्गीता राई – पथरीशनिश्चरे । युवालाई लागूऔषध दुर्व्यसनबाट टाढा राख्दै खेलकुदमा सक्रिय बनाउन मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मा वडास्तरीय खुला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । समाज सुधार समितिको आयोजनामा आगामी मंसिर १९ देखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ११ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
पथरीशनिश्चरे-१० स्थित प्रस्तावित नगर रंगशालामा हुने प्रतियोगितालाई लागूऔषध न्यूनीकरण र युवा सहभागितासँग जोडिएको खेलकुद अभियानका रूपमा अघि बढाउन लागिएको आयोजकले जनाएको छ । खेल संयोजक सञ्जय नाछिरिङका अनुसार युवालाई दुर्व्यसनबाट जोगाउँदै खेलकुदप्रति आकर्षित गर्नुका साथै प्रस्तावित नगर रंगशालाको प्रचारप्रसार र विकासमा सहयोग पुर्याउने उद्देश्य प्रतियोगिताको रहेको छ ।
प्रतियोगिताको अर्को महत्त्वपूर्ण पक्ष प्रस्तावित नगर रंगशालाको पूर्वाधार विकास पनि रहेको छ । आयोजकका अनुसार प्रतियोगिताबाट हुने आम्दानीलाई रंगशालामा मञ्च निर्माण तथा घेराबारा गर्ने काममा खर्च गरिनेछ । प्रतियोगिता सम्पन्न गर्न करिब १० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
प्रतियोगितामा पथरीशनिश्चरे नगरपालिकाका १० वटै वडाका टोलीसँगै भुटानी शरणार्थी शिविरको ‘वाईएफसी’ टोली गरी ११ टिम सहभागी हुनेछन् । खेलाडी छनोटसम्बन्धी नियमअनुसार प्रत्येक टोलीले सम्बन्धित वडाभित्रका आठ जना र वडाबाहिरका बढीमा तीन जना खेलाडी समावेश गर्न पाउनेछन् । प्रतियोगिताको म्याच कमिस्नरको जिम्मेवारी कबिराज चेम्जोङले सम्हाल्नेछन् ।
प्रतियोगिताको विजेता टोलीले नगद १ लाख १ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार रुपैयाँ र ट्रफी पाउनेछ । व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीलाई ‘म्यान अफ द म्याच’ को पुरस्कार प्रदान गरिनेछ ।
खेलकुदलाई मनोरञ्जन र प्रतिस्पर्धामा मात्र सीमित नराखी सामाजिक रूपान्तरणको माध्यम बनाउने लक्ष्यसहित आयोजना गर्न लागिएको प्रतियोगिताले युवालाई सकारात्मक गतिविधिमा जोड्न र स्थानीय खेल पूर्वाधार विकासमा समेत योगदान पुर्याउने अपेक्षा आयोजकको छ ।


