बेलबारी । मोरङको बेलबारी नगरपालिका-६ स्थित बोराबाँध खेलमैदानमा सञ्चालित अन्तरवडास्तरीय भेट्रान फुटबल प्रतियोगिता-२०८३ को उपाधि आयोजक वडा नं. ६ ले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा वडा नं. २ लाई २-० गोल अन्तरले पराजित गर्दै आयोजक टोली च्याम्पियन बनेको हो ।
प्रतिस्पर्धात्मक फाइनल खेलमा वडा नं. ६ का ओमी राईले खेलको २१औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको पाँच मिनेटपछि अर्थात् २६औँ मिनेटमा डम्बर राईले अर्को गोल थप्दै टोलीको जित सुनिश्चित गरे । खेलको बाँकी समयमा वडा नं. २ ले गोल फर्काउन नसकेपछि वडा नं. ६ ले २-० को जितसहित उपाधि उचाल्यो ।

उपाधिसँगै विजेता वडा नं. ६ ले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता वडा नं. २ ले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । समापन समारोहका प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राई र विशिष्ट अतिथि नगर उपप्रमुख नितु थापाले विजेता तथा उपविजेता टोलीलाई पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा व्यक्तिगत विधातर्फ वडा नं. ६ का डम्बर राई म्यान अफ द सिरिज घोषित भए । उनी नै फाइनल खेलका म्यान अफ द म्याचसमेत बने । त्यसै गरी वडा नं. ६ कै ओमी राईले हाइ स्कोररको उपाधि प्राप्त गर्दा वडा नं. २ का निरु लिम्बू अनुशासित खेलाडी घोषित भए ।
प्रतियोगिताले स्थानीय स्तरमा भेट्रान खेलाडीको खेलकौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेलकुदमार्फत बडाहरूबिच आपसी सद्भाव र भाइचाराको सम्बन्ध विस्तारमा सहयोग पुर्याएको छ ।


