विराटनगर । चाडपर्व लक्षित विशेष सुरक्षा योजना कार्यान्वयनका क्रममा मोरङ प्रहरीले जिल्लाका विभिन्न स्थानबाट एक लाख २३ हजार ८ सय रुपैयाँ बराबरका पटाका तथा अन्य विस्फोटक पदार्थ बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले कात्तिक २१ गते चेकजाँच तथा प्रहरी कारबाही गर्ने क्रममा उक्त परिमाणका पटाका लगायतका विस्फोटक पदार्थ बरामद गरेको हो । बरामद सामग्रीको अनुमानित मूल्य एक लाख २३ हजार ८ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
तिहारलगायतका चाडपर्वमा पटका तथा पटकाजन्य विस्फोटक पदार्थको अवैध ओसारपसार, बिक्री वितरण र प्रयोग नियन्त्रण गर्न प्रहरीले सुरक्षा जाँचलाई तीव्र बनाएको छ । कोशी प्रदेश प्रहरीले पनि चाडपर्वलाई लक्षित गर्दै सीमा नाका तथा विभिन्न स्थानमा प्रहरी परिचालन गरी चेकजाँच कडा बनाएको जनाएको छ ।
पटका तथा विस्फोटक पदार्थको प्रयोगले आगलागी, दुर्घटना र मानवीय क्षति हुन सक्ने भएकाले प्रहरीले यस्ता सामग्रीको प्रयोग नगर्न तथा शंकास्पद गतिविधि देखिए प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ ।


