तीन जना निर्विरोध, सभापतिमा गगन-खड्गी प्रतिस्पर्धामा : काँग्रेस महाधिवेशन


काठमाडौं । नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचन प्रक्रियामा तीन जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिला उपसभापतिमा पुष्पा भुसाल र काठमाडौँ उपत्यका महिला सदस्यतर्फ प्रा.डा. अमिता प्रधान शाक्य निर्विरोध निर्वाचित भएका हुन् ।

विश्वप्रकाश शर्मा र पुष्पा भुसाल दुवैको सम्बन्धित पदमा एकल उम्मेदवारी परेको थियो । काँग्रेसको नयाँ संरचनाअनुसार वरिष्ठ उपसभापति र महिला उपसभापतिको व्यवस्था गरिएको हो ।

अमिता प्रधान शाक्य यसअघि पनि काँग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् । विशेष महाधिवेशनको अभिलेखमा उनी आदिवासी जनजाति महिला समूहबाट केन्द्रीय सदस्य निर्वाचित भएको उल्लेख छ ।

सभापति पदमा भने प्रारम्भिक उम्मेदवार सूचीमा गगनकुमार थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीको उम्मेदवारी परेको थियो । पछि राठौरले उम्मेदवारी फिर्ता लिएर थापालाई समर्थन गरेका छन् ।

खड्गीले भने आफ्नो उम्मेदवारी फिर्ता लिएको स्पष्ट पारेका छैनन् । त्यसैले सभापति पदमा गगनकुमार थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुने अवस्था बनेको छ ।

निर्वाचन भएमा नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुने कार्यतालिका रहेको छ । निर्वाचन समितिले उम्मेदवारी फिर्ता तथा दाबी-विरोधको प्रक्रिया पूरा गरेपछि अन्तिम उम्मेदवार सूचीका आधारमा मतदान गराउनेछ ।

प्रतिक्रिया दिनुहोस्