सुधन गुरुङ पुनः गृहमन्त्री, महावीर पुन नवप्रवर्तन मन्त्री नियुक्त


काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साह (बालेन) ले मन्त्रिपरिषद् विस्तार गर्दै गृहमन्त्रालय र नवप्रवर्तन मन्त्रालयमा नयाँ नियुक्ति गरेका छन् । मन्त्रिपरिषद् पुनर्गठनअन्तर्गत यसअघि विवादका कारण पदबाट बाहिरिएका सांसद सुधन गुरुङलाई पुनः गृहमन्त्रीको जिम्मेवारी दिइएको छ भने स्वतन्त्र सांसद महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बनेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति कार्यालयमा दुवै नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । गोरखा क्षेत्र नम्बर-१ बाट निर्वाचित सांसद गुरुङ यसअघि गत चैत १३ गते गृहमन्त्री नियुक्त भएका थिए । तर सम्पत्ति स्रोतसम्बन्धी विवाद सार्वजनिक भएपछि उनले २७ दिनमै पदबाट राजीनामा दिएका थिए । त्यसपछि उनीमाथि छानबिनका लागि समिति गठन गरिएको थियो ।

सरकारले उक्त छानबिन समितिको प्रतिवेदन मन्त्रिपरिषद्मा प्रस्तुत गर्ने निर्णय गरेसँगै प्रधानमन्त्री शाहले गुरुङलाई पुनः गृह प्रशासनको नेतृत्वमा फर्काउने निर्णय गरेका हुन् । यद्यपि प्रतिवेदन सार्वजनिक नगरी पुनर्नियुक्ति गरिएको विषयलाई लिएर राजनीतिक वृत्तमा मिश्रित प्रतिक्रिया देखिएको छ । यसअघि प्रधानमन्त्री शाहले गृह मन्त्रालय आफैं मातहत राख्दै आएका थिए।

यता, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी पाएका महावीर पुन दोस्रो पटक मन्त्री बनेका छन् । म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद पुन यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा मन्त्रीका रूपमा जिम्मेवारी सम्हालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्