बेलबारी । मोरङको बेलबारी नगरपालिकाले मानव-हात्ती द्वन्द्व न्यूनीकरण गर्दै किसान र स्थानीयवासीको सुरक्षा सुनिश्चित गर्न नवीन तथा दीर्घकालीन योजना अघि बढाएको छ । वर्षौँदेखि जङ्गली हात्तीका कारण बालीनाली नष्ट हुने, बस्तीमा त्रास फैलिने तथा मानविय जोखिम बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले आधुनिक प्रविधि, वातावरण संरक्षण र समुदायको सहभागितालाई समेटेर बहुआयामिक कार्यक्रम सञ्चालन गरेको हो ।
नगरपालिकाका अनुसार जङ्गल क्षेत्रबाट हात्तीलाई बस्तीमा प्रवेश गर्न नदिन जंगलमै आहार व्यवस्थापनको अवधारणा अघि सारिएको छ । त्यसैगरी, बेलबारी नगरपालिकाले आधुनिक प्रविधिको प्रयोगमार्फत पनि समस्या समाधानको प्रयास थालेको छ ।
नगरपालिकाले रु. १० लाख लागतमा विशेष क्षमतायुक्त आधुनिक ड्रोन खरिद गरी सञ्चालनमा ल्याएको जनाएको छ । उक्त ड्रोनबाट हात्तीको गतिविधि ट्र्याकिङ तथा मनिटरिङ गर्न सकिने, बस्ती नजिक आउनुअघि सूचना संकलन गरेर स्थानीयलाई सतर्क गराउन सकिने तथा ड्रोनबाट उत्पन्न आवाजमार्फत हात्तीलाई बस्तीबाट टाढा राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
बुधबार उक्त ड्रोनको परीक्षण उडान गरिएको थियो । परीक्षण उडानको अवलोकन दिल प्रसाद राई र नितु थापा कोइरालाले गरेका थिए । नगर प्रमुख राईले मानव-वन्यजन्तु सहअस्तित्वलाई व्यवहारमा उतार्दै किसानको बालीनाली, नागरिकको सुरक्षा र वातावरणीय सन्तुलन जोगाउन नगरपालिकाले दीर्घकालीन सोचका साथ कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
नगरपालिकाका अनुसार यो अभियान केवल हात्ती धपाउने उपाय मात्र नभई “सुरक्षित नागरिक, सुरक्षित खेती र प्रकृतिसँगको सहअस्तित्व” कायम गर्ने दीर्घदृष्टियुक्त पहल हो ।


