काठमाडौं । नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) खेलाडी रवीन्द्र ढाँटले अन्तर्राष्ट्रिय रङ्गमञ्चमा ऐतिहासिक सफलता हात पार्दै रोड टु यूएफसी सिजन-५ को सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् । बिहीबार मकाउस्थित ग्यालेक्सी एरेनामा सम्पन्न क्वाटरफाइनल प्रतिस्पर्धामा फिलिपिन्सका किम्बर्ट एलिनटोजनलाई दोस्रो राउन्डमै पराजित गर्दै उनले नेपाली खेलकुद इतिहासमा नयाँ अध्याय थपेका हुन् ।
‘बझाङको बाघ’ उपनामले परिचित रवीन्द्रले आफ्नो आक्रामक खेल, सशक्त प्रहार र आत्मविश्वासपूर्ण प्रदर्शनमार्फत दर्शकलाई रोमाञ्चित बनाएका थिए । सुरुदेखि नै दबाबमा राख्दै खेलेका उनले दोस्रो राउन्डमा निर्णायक प्रहार गर्दै फिलिपिनी खेलाडीलाई नकआउट गरेका हुन् । यससँगै रोड टु यूएफसी प्रतियोगितामा जित निकाल्ने पहिलो नेपाली खेलाडी बन्ने गौरवसमेत उनले प्राप्त गरेका छन् ।
रवीन्द्रलाई समर्थन गर्न मकाउको एरेनामा हजारौँ नेपाली दर्शक उपस्थित भएका थिए । नेपाली झन्डा फहराउँदै दर्शकहरूले गरेको समर्थनले एरेना नै नेपालीमय बनेको थियो । रवीन्द्रको जितसँगै सामाजिक सञ्जालदेखि खेलकुद क्षेत्रमा नेपाली खेल प्रेमीहरूले खुसी व्यक्त गरिरहेका छन् ।
ब्यान्टमवेट तौल समूहमा प्रतिस्पर्धा गरिरहेका रवीन्द्रले अब सेमिफाइनलमा जापानका युनुसुके मिनामी र न्युजिल्यान्डका कासिब मुर्डोकबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् । यस प्रतियोगिताको विजेता खेलाडीले विश्वकै प्रतिष्ठित मिश्रित मार्सल आर्ट्स प्रतियोगिता यूएफसीको मुख्य स्टेजमा स्थान बनाउने अवसर प्राप्त गर्नेछन् ।
रवीन्द्रले सुरुमा म्याट्टी इयानसँग खेल्ने तालिका रहे पनि उनी घाइते भएपछि फिलिपिन्सका किम्बर्ट एलिनटोजन प्रतिस्पर्धामा आएका थिए । तर प्रतिस्पर्धी परिवर्तन भए पनि रवीन्द्रको लय र आत्मविश्वासमा कुनै असर देखिएन ।
पछिल्लो समय नेपाली एमएमए क्षेत्रमा सबैभन्दा चर्चित फाइटरका रूपमा उदाएका रवीन्द्रले गत वर्ष भारतको ग्रेटर नोइडामा सम्पन्न मेट्रिक्स फाइट नाइट-१७ मा भारतीय खेलाडी चुङरेन कवरेनलाई नकआउट गर्दै उपाधि जितेका थिए ।


