सुन्दरहरैंचा खोर्साने गोल्डकप सुरु : उद्घाटन खेलमा धरानको प्रभावशाली जित


मोरङ । मोरङको सुन्दरहरैंचामा प्रथम सुन्दरहरैंचा खोर्साने गोल्डकप फुटबल प्रतियोगिता औपचारिक रूपमा सुरु भएको छ । सुन्दर खोर्साने युवा क्लबको आयोजनामा सुन्दरहरैंचा नगरपालिका वडा नं. १० स्थित सुकुना खेल मैदानमा शनिवारदेखि सुरु भएको प्रतियोगिताले स्थानीय क्षेत्रमा खेलकुदमय माहौल सिर्जना गरेको छ ।

प्रतियोगिताको उद्घाटन पूर्व सांसद चन्द्र गुरुङले गरेका हुन् । उद्घाटन खेलमा आर.टी धरान विजयी भएको छ । धरानले एपीएफ पकली लाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा शानदार सुरुआत गरेको हो । खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक बने पनि दुवै टोलीले गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको थियो । मैदानमा दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरे पनि पहिलो हाफमा गोलपोस्टको जाली चुम्न सफल भएनन् ।

तर दोस्रो हाफमा धरानले खेलको लय समात्दै लगातार दुई गोल गर्न सफल भयो । धरानको जितका नायक जर्सी नं. १० का कृष्ण राई बने । उनले दुई महत्त्वपूर्ण गोल गर्दै टोलीलाई जित दिलाएका हुन् । उत्कृष्ट प्रदर्शनका लागि उनी “म्यान अफ द म्याच” घोषित भए । उनले नगद रु. रु.३ हजार १ सय प्राप्त गरेका छन् ।

प्रतियोगिताको विजेताले नगद रु. २ लाख तथा उपविजेताले रु. १ लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । क्लबका अध्यक्ष काजीहाङ लिम्बुका अनुसार आइतबार हुने दोस्रो खेलमा यूकेएफसी कर्साङ र शलेस यूथ क्लब बिच प्रतिस्पर्धा हुनेछ ।

उद्घाटन समारोहका अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने स्थानीय व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो । कार्यक्रममा सुवास गिरी र महेन्द्र लिम्बुलाई विशेष सम्मान प्रदान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्