काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानप्रति कडा चेतावनी दिँदै सम्झौताका लागि तयार नभए गम्भीर परिणाम भोग्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल ‘ट्रुथ सोसियल’ मार्फत सार्वजनिक गरिएको सन्देशमा ट्रम्पले वर्तमान अवस्था विश्वका लागि संवेदनशील मोडमा पुगेको संकेत गरेका हुन् ।
ट्रम्पले आफ्नो पोस्टमा इरानप्रति तीव्र भाषा प्रयोग गर्दै सम्भावित विनाशकारी अवस्थाबारे चेतावनी दिएका छन् । “पूरै सभ्यता आज राति नष्ट हुन सक्छ, जुन फेरि कहिल्यै फर्किने छैन,” उनले लेखेका छन् । यद्यपि, यस्तो अवस्था नहोस् भन्ने आफ्नो चाहना रहेको उल्लेख गर्दै उनले परिस्थितिको गम्भीरता झल्काएका छन् ।
उनले इरानमा सम्भावित शासन परिवर्तनको संकेतसमेत गरेका छन् । ट्रम्पका अनुसार हालको नेतृत्वभन्दा फरक, कम उग्र र बढी विवेकशील नेतृत्व उदाउने सम्भावना रहेको छ । “पूर्ण रूपमा शासन परिवर्तन भएपछि फरक विचार भएका मानिसहरू हाबी हुनेछन्, जसले केही क्रान्तिकारी परिवर्तन ल्याउन सक्छ,” उनले उल्लेख गरेका छन् ।
ट्रम्पले यस अवस्थालाई विश्व इतिहासकै एक महत्त्वपूर्ण मोडका रूपमा चित्रण गर्दै इरानको विगत ४७ वर्षको राजनीतिक अवस्थालाई पनि आलोचना गरेका छन् । उनले जबरजस्ती, भ्रष्टाचार र हिंसाको अन्त्य हुने आशा व्यक्त गर्दै इरानी जनताप्रति शुभेच्छा प्रकट गरेका छन् ।


