काठमाडौँ । जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको अनुसन्धानका क्रममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ । शनिवार बिहान भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरिएका दुवै नेतालाई हाल भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ ।
प्रहरीका अनुसार ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट र लेखकलाई कटुन्जेबाट नियन्त्रणमा लिइएको हो । पक्राउपछि उनीहरूलाई आवश्यक अनुसन्धानका लागि प्रहरी परिसरमा राखिएको एक उच्च अधिकारीले जानकारी दिएका छन् ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगले दुवै नेतासहित तत्कालीन केन्द्रीय सुरक्षा समितिका पदाधिकारीविरुद्ध फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो । सोही सिफारिस कार्यान्वयन गर्ने निर्णय नयाँ मन्त्रिपरिषद्ले गरेसँगै पक्राउ प्रक्रिया अघि बढाइएको हो ।
गृह मन्त्रालयको पहलमा गृहमन्त्री सुधन गुरुङले रातभर सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका थिए । प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसँगको समन्वयपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी पक्राउ गरिएको जनाइएको छ ।
प्रहरी स्रोतका अनुसार गृह-मन्त्रालयबाट लिखित आदेश प्राप्त भएपछि जरुरी पक्राउ पुर्जी जारी गरिएको थियो । मुलुकी फौजदारी संहिताअन्तर्गत लापरबाही तथा हेलचेक्र्याइँका कारण ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको बताइएको छ ।
पक्राउ प्रक्रियासँगै उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले देशभरका इकाइलाई उच्च सतर्कतामा बस्न निर्देशन दिँदै आवश्यक तयारी अवस्थामा रहन सर्कुलर जारी गरेका छन् ।
दुवै नेतामाथि आइतबारदेखि औपचारिक अनुसन्धान प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । एकैसाथ प्रभावशाली राजनीतिक व्यक्तित्वहरूको गिरफ्तारीसँगै देशको राजनीतिक वृत्तमा नयाँ तरंग सिर्जना भएको छ ।


