१५ जना मन्त्रीहरूको नाम फाइनल : गृहमन्त्री सुधन गुरुङ


काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको नयाँ सरकार गठनसँगै मन्त्रिपरिषद्को संरचना पनि अन्ततः टुंगिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बहुमतपछि गठन हुन लागेको सरकारमा १५ सदस्यीय मन्त्रिपरिषद्को नामावली अन्तिम चरणमा पुगेको हो ।

अर्थ मन्त्रालय स्वर्णिम वाग्लेलाई दिने निर्णय भएको छ भने गृह मन्त्रालयमा सुधन गुरुङलाई ल्याउने सहमति भएको स्रोतहरूले जनाएका छन् । गुरुङ गोरखा-१ बाट निर्वाचित सांसद हुन् र पछिल्लो समय जेनजी आन्दोलनका क्रममा सक्रिय भूमिकाका कारण चर्चामा आएका थिए ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सोविता गौतमलाई दिने तयारी छ भने परराष्ट्र मन्त्रालय शिशिर खनालको जिम्मेवारीमा रहनेछ । ऊर्जा मन्त्रालय विराजभक्त श्रेष्ठ, उद्योग मन्त्रालय अमरेश कुमार सिंह तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रतिभा रावलले सम्हाल्ने भएका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय गीता चौधरीलाई दिइनेछ भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालय विक्रम तिमल्सिनाको जिम्मेवारीमा रहने जनाइएको छ । त्यस्तै श्रम मन्त्रालय दीपक साह, शिक्षा मन्त्रालय सस्मित पोखरेल, पर्यटन मन्त्रालय खडकराज पौडेल, भौतिक पूर्वाधार मन्त्रालय सुनिल लम्साललाई दिइने तयारी छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सीता वादी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय निशा मेहतले सम्हाल्ने भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्