बीमितलाई बाहिरबाट औषधि किन्न नलगाउन अस्पताललाई बिमा बोर्डको निर्देशन


काठमाडौं । स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध बिरामीलाई उपचारका क्रममा अस्पतालबाहिरबाट औषधि खरिद गर्न नलगाउन देशभरका सबै स्वास्थ्य संस्थालाई कडा निर्देशन दिएको छ । बीमित बिरामीहरूलाई उपचारपछि बाहिरी औषधि पसलबाट औषधि तथा औषधिजन्य सामग्री खरिद गर्न बाध्य बनाइएको गुनासो बढेपछि बोर्डले यस्तो निर्देशन जारी गरेको हो ।

बोर्डका सूचना अधिकारी विकेश मल्ल का अनुसार बीमितलाई अस्पतालमै उपलब्ध हुनुपर्ने औषधि बाहिरबाट किनाउन लगाउने प्रवृत्ति देखिएपछि सबै अस्पताललाई परिपत्रमार्फत सचेत गराइएको छ । उनका अनुसार स्वास्थ्य बिमा सेवाअन्तर्गत प्याकेजमा समावेश गरिएका औषधि तथा सामग्री अस्पतालले आफ्नै व्यवस्थाबाट उपलब्ध गराउनुपर्ने प्रावधान भए पनि केही स्वास्थ्य संस्थाले बिरामीलाई बाहिरी औषधि पसलमा पठाउने गरेको गुनासो आएको थियो ।

मल्लले उपचार सेवासँगै उपलब्ध हुनुपर्ने औषधि तथा औषधिजन्य सामग्री बिरामीलाई बाहिरबाट नगदमा खरिद गर्न लगाउने कार्य स्वास्थ्य बिमा ऐन तथा नियमावली विपरीत रहेको स्पष्ट पारे। उनले यस्ता गतिविधि दोहोरिएमा सम्बन्धित अस्पताललाई स्वास्थ्य बिमा ऐन २०७५, स्वास्थ्य बिमा नियमावली २०७५ तथा प्रचलित निर्देशिका र कार्यविधिअनुसार कारबाही गरिने चेतावनीसमेत दिएका छन् । नियमावलीको दफा १८ को उपनियम (१) को खण्ड (क) बमोजिम त्यस्ता स्वास्थ्य संस्थामाथि आवश्यक कारबाही हुने बोर्डले जनाएको छ ।

स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत पाँच सदस्यसम्मको परिवारले वार्षिक तीन हजार पाँच सय रुपैयाँ योगदान गरेमा एक लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा सुविधा प्राप्त गर्ने व्यवस्था रहेको छ । यस्तै परिवारका थप सदस्यका लागि प्रतिव्यक्ति सात सय रुपैयाँका दरले योगदान रकम थपिँदै जाने र प्रति सदस्य २० हजार रुपैयाँ बराबरको सेवा सुविधा वृद्धि हुने प्रावधान रहेको बोर्डले जनाएको छ ।

बोर्डले बीमित नागरिकलाई सेवा पाउने अधिकार सुनिश्चित गर्न तथा स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन अस्पतालहरूलाई निर्देशित प्रावधान कडाइका साथ पालना गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्