झापा-५ मा बालेन्द्र शाहको ऐतिहासिक विजय : केपी शर्मा ओलीलाई झण्डै ५० हजार मतान्तरले पराजित


काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत देशकै सबैभन्दा चासोको केन्द्र बनेको झापा निर्वाचन क्षेत्र नम्बर-५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) ऐतिहासिक मतान्तरसहित विजयी भएका छन् ।

प्रधानमन्त्रीको उम्मेदवारका रूपमा रास्वपाले अघि सारेपछि झापा-५ को प्रतिस्पर्धा राष्ट्रिय राजनीतिको ‘इपिसेन्टर’ बनेको थियो । काठमाडौं महानगरपालिकाका पूर्व-नगरप्रमुखसमेत रहेका शाहले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग सीधा प्रतिस्पर्धा गरेका थिए । मतगणनाको अन्तिम परिणामअनुसार शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दै विजयी भए भने ओली १८ हजार ७३४ मतमा सीमित रहे । यससँगै शाहले ओलीलाई ४९ हजार ६१४ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।

यो परिणामलाई नेपाली राजनीतिको महत्त्वपूर्ण मोडका रूपमा हेरिएको छ । परम्परागत रूपमा एमालेको प्रभाव क्षेत्र मानिने झापा–५ मा नयाँ राजनीतिक शक्ति रास्वपाका उम्मेदवारले यति ठुलो मतान्तरसहित जित हासिल गर्नु राजनीतिक विश्लेषकहरूका लागि पनि चासोको विषय बनेको छ ।

यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भने केपी शर्मा ओली यही क्षेत्रबाट विजयी भएका थिए । त्यस बेला उनले नेपाली काँग्रेसका उम्मेदवार खगेन्द्र पाण्डव अधिकारीलाई २८ हजार ५७६ मतको अन्तरले पराजित गरेका थिए । उक्त निर्वाचनमा ओलीले ५२ हजार ३१९ मत प्राप्त गरेका थिए भने अधिकारीले २३ हजार ७४३ मत ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्